८९ वर्षीया वृद्धाको सुनको रिङ लुटपाट गर्ने पक्राउ


बागलुङ । बागलुङमा ८९ वर्षीया वृद्धाको कानमा रहेको सुनको रिङ लुटपाट गर्ने एक युवा पक्राउ परेका छन्। 

बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर मजुवास्थित आफ्नै घरको आँगनमा बसेकी मैसरी काउचालाई डर धाक धम्की दिएर सुनको रिङ लुटिएको हो।

लुटपाटमा संलग्न सोही ठाउँ बरेङ गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय सन्दिप रुचाल हुन्। उनले वृद्धाको बायाँ कानमा रहेको ४.३८ ग्रामको सुनको रिङ लुटेर लगेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरी टोलीले रुचाललाई कानुन बमोजिम नियन्त्रणमा लिएको हो। 

प्रहरीले शुक्रबार बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर यस घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।