खोटाङ । खोटाङमा भारी परिमाणको गाँजासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ७ वालिङस्थित मध्यपहाडी लोक मार्गको जङ्गलमा शङ्कास्पद अवस्थामा रोकिराखेको प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट प्रहरीले ठुलो मात्रामा गाँजा बरामद गरेको हो।
बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक नीराजन बस्नेतको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक चेकजाँच गरेको थियो। शङ्का लागेर जाँच गर्दा चालक बस्ने भाग र पछाडिको डालाको बिचमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा १३ सय १५ किलो गाँजा फेला परेको हो।
प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएको छ। उक्त ट्रकका चालक र धनीको खोजी कार्य जारी राख्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया