चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानीबाट उक्त रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
मुलुकका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालमा भरतपुर पर्दछ । स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको छ । अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यो अवधिमा १९ लाख ७० हजार ३५२ पटक सेवा दिइएको छ ।
यसबापत अस्पतालले हालसम्म रु तीन अर्ब ४८ करोड छ लाख २० हजार १६२ रकम प्राप्त गरिसकेको पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालको बिमा कार्यक्रममा २४सै घण्टा कर्मचारी बसेर दाबी भुक्तानीको काम गरिरहेका छन् । देशका अन्य अस्पतालहरूबाट समेत स्वास्थ्य बिमा कार्यक्रमको यहाँबाट भइरहेका कामको प्रकृति हेर्न र सिक्न आउने गर्दछन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बिमाको भएका बताए । तीसहित सबै बिरामीका लागि एकै दिनमा सेवा दिने गरी सहज व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गर्दै उनले पालो कुर्नुपर्ने सेवाहरूमा समय कम गर्दै लगिएको जानकारी दिए ।
नगद काउन्टर थप गरिएको, टिकटलाई अनलाइन गरिएको, शल्यक्रियाको पालो घटाउँदै लगिएको, टिकटको समय बढाइएको भन्दै उनले अन्य सेवालाई पनि क्रमशः सहज बनाइने बताए । देशभरका अस्पतालहरूमा भरतपुर अस्पतालको स्वास्थ्य बिमा योजना नमूना कार्यक्रमका रूपमा लिने गरिएको उनको भनाइ छ ।
अस्पतालमा पछिल्लो समय बिरामीको उच्च चाप हुने गरेको छ । बहिरङ्ग (ओपिडी) सेवामा एकै दिन गत मङ्गलबार तीन हजार ७५१ जना बिरामी आएका थिए । जसमध्ये स्वास्थ्य बिमाका मात्रै दुई हजार ९४८ रहेका थिए । यहाँ चितवनसहित २२ जिल्लाबाट नियमित बिरामी आउने गरेका छन् । ठूलो सङ्ख्यामा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । रासस




प्रतिक्रिया