राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढेको दाबी गरेका हुन् ।

प्रधानमन्त्रीले आफ्नो सरकार गठनपछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिइएको बताए । ‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ?’ भन्दै उनले यस्तो चिन्ता र शंका स्वाभाविक भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसैको परिणामस्वरूप केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको दाबी छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनले उल्लेख गरेका छन्।

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्रीले बताएका छन्।

तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत हुन थालेको उनको भनाइ छ। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।