विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय गलत: कुलमान घिसिङ


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णयमा आपत्ति जनाएका छन्। सनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारको यो कदम गलत रहेको बताए ।

घिसिङका अनुसार यसअघि सिँचाइको महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको थियो। ‘कृषि सिँचाइका लागि विद्युत् निःशुल्क गर्दा पनि हुन्छ, यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउनु दुर्भाग्यपूर्ण छ’ उनले भने।

नेपाली भान्सामा ग्यासको अभाव भइरहेका बेला सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई समेत करको भार थोपरेको घिसिङको तर्क छ। उनले सरकारले ग्यास सिलिन्डरको सट्टा इन्डक्सन चुल्हो बाँड्ने योजना ल्याउनुपर्ने सुझाव दिए ।

देशको विद्युत् पूर्वाधारले ठूलो संख्यामा इन्डक्सन चुल्हो प्रयोग र विद्युतीय सवारीसाधन चार्ज गर्दा पनि धान्न सक्ने अवस्था रहेको घिसिङले बताएका छन् । केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको उनको दाबी छ ।