मुख्यमन्त्री बानियाँले भदौ ३ भित्र विश्वासको मत लिने


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र विश्वासको मत लिने भएका छन् ।

शनिबार काठमाडौंमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो । गत साउन ६ गते एमालेका मन्त्रीहरुले राजिनामा दिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

सत्ता साझेदार दल एमालेले कांग्रेससंगको गठबन्धन तोड्दै नेकपासँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । उक्त अवस्थाबिच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ भने एमाले र नेकपाको सरकार गठनको अवस्था पनि अन्योल बनेको छ ।

यस परिस्थितिबिच मुख्यमन्त्री बानियाँले ३ गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो । बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।