काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति तथा अधिकारका लागि भएका संघर्ष, त्याग र बलिदानको स्मरण गरेका छन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
‘आजको दिन आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग र बलिदानलाई स्मरण गर्ने दिन हो । नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्याएको योगदान अविस्मरणीय छ,’ उनले भनेका छन् ।
आङदेम्बेले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको भन्दै यी उपलब्धि कुनै दया वा कृपाबाट नभई जनताको लामो संघर्षबाट प्राप्त भएको बताएका छन् ।
तर पछिल्लो समय सरकारका गतिविधि र अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै उनले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने संकेत देखिन थालेको बताएका छन् । ‘कमजोरी छन् भने सुधार गरौँ, समस्या छन् भने समाधान गरौँ,’ उनले भनेका छन्, ‘तर जनताको संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य हुन सक्दैन ।
उनले संविधान संशोधन र परिमार्जनको प्रक्रियामार्फत देखिएका त्रुटि सच्याउनुपर्नेमा जोड दिँदै आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्ने बताएका छन् । साथै राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्वसहितको संघीयता संस्थागत गर्नुपर्ने उनको धारणा छ ।




प्रतिक्रिया