मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड


रुपन्देही, २४ साउन । मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ ।

पालिकाले पूर्वाधार विकाससँगै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजनाका आधारमा बजेट तर्जुमा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक, खानेपानी, सरसफाइ तथा अन्य भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिइएको पालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए ।

स्थानीय सरकारको विकासलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी नागरिकको जीवनस्तर सुधारसँग जोडिएको बताए । “हाम्रो लक्ष्य सडक र भवन निर्माणमा मात्र सीमित छैन । स्वस्थ, शिक्षित, आत्मनिर्भर र समृद्ध समाज निर्माणतर्फ केन्द्रित छ,” उनले भने ।

आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, नियमित खोप तथा पोषण एवं स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन भएका छन् । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, गर्भवती तथा सुत्केरीको स्वास्थ्य परीक्षण, बाल स्वास्थ्य परीक्षण तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

कृषिलाई स्थानीय अर्थतन्त्रको आधार मानेर गाउँपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, सिँचाइ, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको छ । किसानको उत्पादन र आम्दानी बढाउने उद्देश्यले प्राविधिक सहयोग तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

युवालाई स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम, कृषि उद्यम, साना व्यवसाय तथा उद्यमशीलता विकासका कार्यक्रम अघि बढाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीले सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन प्रशासनिक प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताए ।

“स्थानीय सरकारप्रतिको नागरिकको विश्वास सेवा प्रवाहबाट स्थापित हुन्छ । त्यसैले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर नागरिकमैत्री प्रशासन निर्माणमा केन्द्रित भएका छौँ,” उनले भने ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ ।

उपाध्यक्ष आशा सिंहले महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि परेका समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । महिला सशक्तीकरण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सीप विकासका कार्यक्रमलाई वडा तहसम्म विस्तार गरिएको उनले जानकारी दिए ।

शिक्षातर्फ विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धि, शिक्षकको क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, खेलकुद, वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनका कार्यक्रमलाई समेत गाउँपालिकाले अघि बढाएको जनाएको छ ।

गाउँपालिकाका अनुसार विकास निर्माणका योजना छनोट गर्दा स्थानीय आवश्यकता र नागरिकको मागलाई आधार बनाउने गरिएको छ । योजना कार्यान्वयनमा जनसहभागिता, नियमित अनुगमन तथा पारदर्शितालाई प्राथमिकतामा राखिएको छ ।