काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता बढाउन नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनालाई अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले स्वीकृति दिएको छ।
स्वीकृत परियोजनामध्ये कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशका समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिसम्बन्धी कार्यक्रम छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रिन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ। यसले प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रको वातावरण संरक्षण र जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने ‘सेफ निब’ परियोजनाको पूर्व-अवधारणापत्र स्वीकृत भएको छ। हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु अनुकूलन क्षमता बढाउने र बाढीपहिरोको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको यस परियोजनाको प्रस्तावित बजेट ३० करोड अमेरिकी डलर छ।
लुम्बिनी प्रदेशमा सञ्चालन हुने तेस्रो परियोजना संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिटाट) ले कार्यान्वयन गर्नेछ। करिब ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको यस परियोजनाले स्थानीय समुदायको नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्य सञ्चालन गर्दै उत्थानशीलता बढाउने लक्ष्य लिएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु अनुकूलनका लागि विश्वव्यापी रूपमा वित्तीय स्रोतको माग बढिरहेका बेला नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी छन्। उनका अनुसार परियोजनाले जलवायु परिवर्तनका असर व्यवस्थापन, विपद्को जोखिम न्यूनीकरण र वातावरणीय क्षति व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषले नेपाललाई दुई करोड अमेरिकी डलर अर्थात् करिब तीन अर्ब दुई करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो।




प्रतिक्रिया