खड्का टोलीसहित बाँडेगाउँमा : किसुनजीको आश्रमबाटै गरे पार्टी एकताको सङ्कल्प


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको टोलीसहित ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेका छन्।

संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय भट्टराईको सादगी र निष्ठाको धरोहर मानिने आश्रम परिसर पुगेर खड्काले कांग्रेसको पूर्ण एकताका लागि सङ्कल्प व्यक्त गरे। आश्रम अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “पार्टीको सम्पूर्ण एकताको सङ्कल्प गर्न किसुनजीको आश्रममा आएको हुँ।”

गत भदौ २४ गते देशव्यापी रूपमा उठेको ‘जेन-जी’ आन्दोलनका क्रममा अराजक समूहद्वारा बाँडेगाउँस्थित भट्टराईको आश्रममा आगजनी गरिएको थियो। सो दुःखद घटनालगत्तै भौतिक क्षति अवलोकन गर्न पुगेका खड्का त्यसयता दोस्रोपटक बाँडेगाउँ पुगेका हुन्। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले पुर्‍याएको क्षतिको पुनरावलोकन गर्दै उनले पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए।

खड्काको उक्त बाँडेगाउँ यात्रामा कांग्रेसका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। टोलीमा केन्द्रीय नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेलका साथै कर्णाली प्रदेश सभापति ललितजंग शाहीलगायतका नेता-कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

विशेषगरी महाधिवेशन र आगामी राजनीतिक कार्यदिशालाई लिएर कांग्रेसभित्र आन्तरिक बहस तीव्र भइरहेका बेला पूर्वकार्यवाहक सभापति खड्काले भट्टराईको आश्रमलाई साक्षी राखेर दिएको ‘पार्टी एकता’को सन्देशलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।