काठमाडौँ । अडानमा अडिग रहने र एकाएक आश्चर्यजनक निर्णय लिने स्वभावका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सरकार १०० दिन पार गरेसँगै कार्यशैली र रणनीतिमा व्यापक ‘यू-टर्न’ लिन थालेका छन्। पदबहाली गरेलगत्तै कूटनीतिक शिष्टाचार र पार्टी–सरकार समन्वयका सन्दर्भमा देखाएको कडा र गैर-पारम्परिक अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले आन्तरिक राजनीति र बाह्य कूटनीति दुवैतर्फ लचिलो रणनीति अपनाउने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै विदेशी नियोग प्रमुखहरूसँग सामूहिक भेटघाट गर्ने र व्यक्तिगत भेट नदिने प्रधानमन्त्री बालेनको अडान नेपाली कूटनीतिमा चर्चाको विषय बनेको थियो। सोही अडानका कारण यसअघि भ्रमणमा आएका उच्च अमेरिकी अधिकारीहरू- सहायक विदेशमन्त्री समिर पल कपुर, राष्ट्रपतिका विशेष दूत सर्जियो गोर तथा उपविदेशमन्त्री सारा बी. रोजर्ससँगको भेटघाट रोकिएको थियो। यसअघि वैशाख २८ गतेका लागि तय भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो ।
तर, पछिल्लो समय एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँगको भेटपछि बालेन कूटनीतिक लचकतातर्फ मोडिएका छन्।
गत चैत २५ र जेठ १२ मा विदेशी नियोग प्रमुखहरूसँग गरिएका सामूहिक बैठकलाई शुरुमा पारदर्शी र समदूरीको कूटनीतिका रूपमा हेरिए पनि व्यवहारमा यसलाई निरन्तरता दिन कठिन हुने कूटनीतिज्ञहरूको विश्लेषण थियो।
तर अब बालेन सरकारले दुवै छिमेकी र अरु मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई व्यावहारिक रूपमा सुमधुर बनाउन ‘एक्लाएक्लै कूटनीतिक भेटघाट’को शृंखला सुरु गर्ने भएको छ ।
प्रधानमन्त्रीले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट्दै छन् भने मंगलबार अमेरिकी कार्यबाहक राजदूत स्कट अर्बम (चार्ज डी अफेयर्स) लाई भेट्ने तय भएको छ।
भारत र चीन दुवै छिमेकका राजदूतहरूलाई एकै दिन भेट्ने तालिकाले नेपालको समदूरीको परराष्ट्र नीतिलाई दर्शाउँछ। यद्यपि, समयतालिकामा पहिले भारत र त्यसपछि चीनलाई समय दिनुले सरकारको प्राथमिकताको कूटनीतिक संकेत गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।
यसलाई अन्ततः बालेन सरकारले आफ्नो पहिलो रोजाइमा भारतलाई नै पारेको परराष्ट्रविद्हरुले टिप्पणी गरेका छन् । सुनसरीको देवानगञ्ज प्रकरणलगायत तराई-मधेशका हिंसात्मक घटनाका कारण रोकिएको यो भेटवार्ता मुख्यतया परिचयात्मक हुनेछ। यद्यपि, “भेटघाटमा विदेशी कूटनीतिज्ञहरूले शाहसमक्ष द्विपक्षीय सम्बन्धका आरोह-अवरोहबारे ब्रिफिङ गर्दै आ-आफ्नो सरकारका तर्फबाट शुभकामना र विशेष सन्देश साटासाट गर्नेछन्।”
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) ले स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलासँग यसअघि नै प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश यात्रा भारतबाट प्रारम्भ हुने जानकारी दिएका थिए । भारतीय राजदूत नवीन श्रीवास्तवसँगको सोमबारको भेटपछि प्रधानमन्त्रीले बालेनको भारत भ्रमणको मिति सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यस्तै, अब बाह्य कूटनीतिमा मात्र होइन, प्रम बालेनले आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको असन्तुष्टि सम्बोधन गर्न पनि नयाँ रणनीति अघि सारेका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलालाई दिएको जानकारीअनुसार, आगामी भदौदेखि लागू हुने गरी सरकारमा सहभागी मन्त्रीहरूले समय मिलाएर दैनिक जसो रास्वपा केन्द्रीय कार्यालय जानुपर्ने नियम बनाइएको छ। मन्त्रीहरूले पार्टीका सांसद, केन्द्रीय सदस्य तथा आम कार्यकर्ताका कुरा अनिवार्य रूपमा सुन्नुपर्ने रणनीति सरकारले अघि सारेको राजनीतिक सल्लाहकार शाहले अध्यक्ष धमलालाई जानकारी दिएका हुन् । त्यस्तै, अन्य राजनीतिक दलका सांसदहरूले समेत मन्त्रीहरूसँग सजिलै भेटेर आफ्ना समस्या राख्न सक्ने वातावरण बनाइएको उनले बताएका छन् ।
सरकार सञ्चालनका क्रममा पार्टी पङ्क्तिबाटै असन्तुष्टि र दूरी नबढोस् भन्ने उद्देश्यले प्रधानमन्त्री बालेनले यो कदम चालेको देखिन्छ। सरकार गठन भएको १०० दिन पूरा भएपछि उद्योगी, व्यवसायी र नागरिक समाजका प्रतिनिधिलाई भेट्न थालेका प्रधानमन्त्री बालेनले आन्तरिक गृहकार्यलाई थप परिपक्व बनाउन खोजेका छन्।
आक्रामक निर्णय र कठोर अडानका साथ सत्ता यात्रा शुरु गरेका प्रधानमन्त्री बालेनले सत्ताको व्यावहारिक अनुभवसँगै रणनीतिक लचकता अपनाउन थालेका हुन्। विशाल छिमेकी देशहरू भारत र चीनलाई नचिढ्याई सन्तुलित सम्बन्ध राख्ने कूटनीतिक पहल र पार्टी पङ्क्तिलाई मिलाएर लैजाने आन्तरिक गृहकार्यले बालेन सरकारलाई परिपक्व र नतिजामुखी बनाउँछ कि बनाउँदैन ? त्यो भने आगामी दिनको कार्यान्वयनले नै पुष्टि गर्नेछ।




प्रतिक्रिया