‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा


काठमाडौँ, २४ साउन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ ।

लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो ।

रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आमनागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुपर्ने हुनेछ ।

दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र सङ्गठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक, पार्टीको साङ्गठनिक तह, संसदीय दल र सरकार रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान गर्ने लक्ष्य सो पार्टीले लिएको छ ।