माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै


चितवन, २४ साउन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो ।

करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो । अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ ।

पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार आठ मेघावाटको हुँदा समयसमयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बताए । उनका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो ।

समयसमयमा विद्युत् प्रवाहमा समस्या आउने र समस्या पहिचान गर्न लामो समय लाग्ने हुँदा नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको उनले जानकारी दिए । ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले भूमिगत विद्युतीकरणका लागि नक्साङ्कनको काम सम्पन्न गरेर २५ मेघावाटको विद्युत् प्रवाह गर्न सक्ने तारको खरिद प्रक्रियामा रहेको कार्यालयका प्रमुख झाले उल्लेख गरे । वर्षात सकिएसँगै कामले तीव्रता पाउने उनले बताए ।

माडीमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् प्रवाह गर्दै आएको छ । जहाँ ११ हजार ७०० ग्राहक रहेको वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टले जानकारी दिए । उनका अनुसार घरायासी एवं सिँचाइको प्रयोजनका लागि ती ग्राहक रहेका छन् ।

जिल्लाका माडी नगरपालिलाई चारैतिर जङ्गलले घेरेको छ । धेरैजसो भागमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । माडीवासी सदरमुकाम भरतपुर आउजाउ गर्न निकुञ्जकै बाटो प्रयोग गर्नुपर्दछ । गत वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ते गरी ठेक्का सम्झौता पछि काम अघि बढेको हो ।