पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालन, थ्री–एस सुविधा पूर्णरूपमा तयार


पोखरा । नेपालको नम्बर १ विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित बीवाईडीले नवीन प्रविधियुक्त सवारी साधन मात्र नभई विश्वस्तरीय सर्भिस इकोसिस्टम निर्माणमा पनि आफ्नो लगानी विस्तार गरेको छ। यसै क्रममा नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। यससँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्णरूपमा सञ्चालनमा आएको छ ।
यसअघि पोखरा क्षेत्रका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए। अब भने बीवाईडीकै आधिकारिक सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाटै तालिमप्राप्त प्राविधिकको प्रत्यक्ष सेवा प्राप्त हुनेछ।
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक सर्भिस सेन्टर विद्युतीय सवारीसाधनको मर्मतसम्बन्धी विशेष आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ–बे लगायतका सुविधाहरू छन्। दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्ने क्षमता रहेको यस सेन्टरले ग्राहकको प्रतीक्षा समय घटाउने अपेक्षा गरिएको छ।
सर्भिस सेन्टरमा नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्टपेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिसका साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा उपलब्ध हुनेछ।
उद्घाटन अवसरमा बोल्दै साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडी सवारीको खरिद ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको र सम्पूर्ण स्वामित्व अवधिभर उत्कृष्ट सेवा दिन कम्पनी प्रतिबद्ध रहेको बताए।
आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारी साधन सार्वजनिक गर्ने तयारी गरिरहेको सन्दर्भमा बिक्रीपछिको सेवा सञ्जालको यो विस्तारले नेपाली बजारप्रतिको कम्पनीको दीर्घकालीन प्रतिबद्धता र रणनीतिलाई थप मजबुत बनाएको छ।