नागरिकमा अनिश्चितता, हतास र आक्रोश छ, सर्वोच्चको आदेशबाट डराउनुपर्दैन: सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीव्र असन्तुष्टि रहेको बताएका छन्। आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आम नागरिकमा अनिश्चितता, हतास र आक्रोश गरी तीन किसिमका धारणा व्याप्त रहेको उल्लेख गरे।

विभिन्न नागरिकहरूसँगको संवादका क्रममा सरकारप्रतिको वितृष्णा प्रस्ट देखिएको बताउँदै थापाले भने, “केही नागरिकमा अनिश्चितता छ। केही नागरिकसँग कुरा गर्दा हिजो पनि राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुँदैन भन्ने हतास भाव पाउँछु। अनि केही नागरिकमा भने चरम आक्रोश देखिन्छ।”

नागरिकमा गुम्सिएर रहेको यही आक्रोशको पछिल्लो अभिव्यक्तिका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिनअघिको सामाजिक सञ्जाल पोस्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्तिलाई लिन सकिने थापाको विश्लेषण छ। तर, नागरिकमा बढिरहेको यस्तो आक्रोशबाट कांग्रेस खुसी हुन नसक्ने भन्दै उनले यसलाई पार्टीले गम्भीर चिन्ताका रूपमा लिनुपर्नेमा जोड दिए।

आफूले यसअघि नै नागरिक असन्तुष्टिबारे शीर्ष नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै उनले भने, “मैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई नागरिक कांग्रेससँग रिसाएको विषय गत भदौ ८ गते संसद्मै जानकारी गराएको थिएँ।” नागरिकले जुनसुकै बेला प्रतिरोध गर्न सक्ने सम्भावनाबारे केन्द्रीय समिति बैठकमै पनि सचेत गराउँदा ‘हामीले जितेर आएका छौँ’ भन्दै बेवास्ता गरिएको गुनासो थापाले गरे।

भदौ २३ र २४ गतेका घटनाहरू एकाएक सिर्जना नभएको दाबी गर्दै सभापति थापाले नागरिकमा लामो समयदेखि जम्मा भएको आक्रोशको एकमुष्ट अभिव्यक्तिपछि फागुन २१ गतेको ब्यालेटमा देखिएको टिप्पणी गरे।

यसैबीच, पार्टीको वैधानिकता र विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पुनरवलोकन आदेशलाई सहजरूपमा लिएर कानुनी प्रक्रियाको सामना गर्ने थापाले स्पष्ट पारेका छन्। कांग्रेसका सम्पूर्ण काम विधानअनुसार नै भएकाले अदालतको आदेशबाट आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

“हाम्रो विशेष महाधिवेशन पूर्णरूपमा विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,” थापाले भने। असन्तुष्ट पक्ष पुनरवलोकनमा जानु न्यायिक प्रक्रियाको नियमित पाटो भएको उल्लेख गर्दै उनले कांग्रेस आफ्ना प्रमाणसहित आत्मविश्वासका साथ अदालतमा प्रस्तुत हुने बताए।

“अदालतमा एकपटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति पूर्ण विश्वास छ,” उनले थपे। कानुनी लडाइँभन्दा पनि पार्टीका नेता-कार्यकर्ताबीचको आपसी विश्वास र एकता नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति भएको भन्दै थापाले एकजुट भएर अगाडि बढ्न आह्वान गरे।