धुमधामसँग मनाइयो ३२औँ विश्व आदिवासी दिवस


काठमाडौँ । ‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान !’ भन्ने मूल मर्मका साथ ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार राजधानी काठमाडौँमा एक भव्य सांस्कृतिक र्‍याली तथा मूल समारोहको आयोजना गरिएको छ।

दिवसको अवसरमा भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीमा विभिन्न आदिवासी जनजाति समुदायको मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत र नृत्यको बेजोड सङ्गम देखिएको थियो। आफ्नै परम्परागत पहिरनमा सजिएका सहभागीहरूले भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्चसम्म पुगेर र्‍यालीलाई मूल समारोहमा परिणत गराएका थिए।

र्‍यालीमा नेवार, थारू, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार तथा ह्योल्मोलगायतका विभिन्न आदिवासी जनजातिको जीवन्त सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुतिले उपत्यकाको सडकमा अद्भूत रौनक ल्याएको थियो।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट भेला भएका हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहहरूको स्वतःस्फूर्त सहभागिता रहेको उक्त समारोहमा सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी एवं शिक्षाविद्हरूको समेत उल्लेखनीय उपस्थिति थियो।

यस दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध र उनीहरूको अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त ढङ्गले उठाउने अवसर प्रदान गरेको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।

नेपालको संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि र प्राकृतिक स्रोतमाथिको अधिकार तथा सांस्कृतिक सम्पदाको संरक्षण अझै पनि मुख्य मुद्दाका रूपमा रहेको महासंघको ठहर छ। विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान र जीवनपद्धतिको संरक्षण गर्दै उनीहरूका साझा समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष विश्वभर यो दिवस मनाइँदै आएको छ।