काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ । आज बसेको बैठकमा सबै विषय टुंगिन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीदेखि सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा बैठकमा छलफल सुरु भएको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति तथा विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ। त्यस्तै प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेन्डामा छन्।
पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत बैठकमा छलफल सुरु भएको छ। सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाका विषयमा पनि छलफल गरिनेछ।
त्यस्तै प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।





प्रतिक्रिया