विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ


काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको छ । यही साउन २८ गतेदेखि स्वयम्भूमा लाग्ने एकमहिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरिएको हो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो ।

मन्दिर तथा देवीदेवतालाई समेत विधिपूर्वक सफा गरिएको छ । काठमाडौँ महानगरपालिका–१५, स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई प्लास्टिकजन्य वस्तु मुक्त बनाउन तथा पर्यावरण संरक्षण गरी त्यस क्षेत्रमा स्वच्छ र सफा वातवरण विकासका लागि पहल गरिरहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

चैत्य तथा वरपर क्षेत्र फोहर मैलाले दिन दिनै कुरुप बन्दै गएकाले सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान र गर्न लागिएको महासमितिले जनाएको छ । वातावरणीय प्रभावलाई असर नपर्ने गरी त्यस क्षेत्रमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।

मेला अवधिभर सम्पदा क्षेत्रका विभिन्न स्थानमा आवश्यकताअनुसार डस्टबिन तथा सन्देशमूलक सूचना पाटीहरु राखिने छ । महासमितिले सम्पदा संरक्षण, बुद्धजयन्ती, स्थानीय जात्रा पर्व तथा मेला व्यवस्थापनलगायत नियमित तथा विशेष पूजा गर्न आवश्यक सहयोग गर्ने गरेको जनाइएको छ । रासस