काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ माग गरेर प्रतिपक्षी दलले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन खोजेको बताइन् ।
‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस् । हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं,’ उनले भनिन् ।
साथै, उनले प्रधानमन्त्री शाहको गत शुक्रबार राति फेसबुकमा लेखेको स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नभएको भन्दै प्रतिपक्ष सधैं साथमै उभिने प्रतिबद्धता जनाइन् ।
‘प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्नँ, मुलुकको हितमा तपाईं अघि बढ्नुस् । प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,’ उनले भनिन्,‘‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन । सचिवालयले मात्रै देशको शासन चल्दैन ।’




प्रतिक्रिया