भाषा बाँच्नु भनेको सभ्यता र पुर्खाको ज्ञान बाँच्नु हाे : कानूनमन्त्री गाैतम


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण तथा नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले मातृभाषामा राज्यका सूचना नागरिकसम्म पुर्‍याउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताइन् ।

राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उनको भनाइ छ । राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेको उनले बताइन् ।

उनले मातृभाषा पत्रकारिताको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामबारे ठोस तथा बुँदागत सुझाव पेश गर्न पत्रकारहरूलाई आग्रह गरिन् ।

‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ । नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो,’ मन्त्री गौतमले भनिन् ।

उनले नागरिकले आफ्नै मातृभाषामा राज्यका सूचना प्राप्त गर्दा मात्रै लोकतन्त्र वास्तविक अर्थमा बलियो हुने बताइन् ।

भाषा बाँच्नु भनेको सभ्यता र पुर्खाको ज्ञान बाँच्नु भएको उल्लेख गर्दै मन्त्री गौतमले भाषाको संरक्षण तथा पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।