काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलनअनुसार सन्धि–सम्झौताको पुनरवलोकन सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने बताए ।
नेपालको हितलाई ध्यानमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गरिने उनको भनाइ छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने कार्य भइरहेको उनले बताए । सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने र पारस्परिक सहमति भएका सन्धि–सम्झौतालाई अन्तिम रूप दिने काम समेत भइरहेको उनले जानकारी दिए।
संसदमा बोल्दै मन्त्री खनालले भने, ‘सन्धिसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सामान्य सिद्धान्तबमोजिम कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण सम्बन्धित पक्षराष्ट्र वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समेत आपसी सहमति र स्वीकृतिमा निर्भर रहने अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलन छ।’




प्रतिक्रिया