काठमाडौं । प्रधानमन्त्री पदमा नियुक्त भएको करिब पाँच महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई नेपाल–भारत सम्बन्धका पछिल्ला घटनाक्रमको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटमा नेपाल–भारत द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश प्रधानमन्त्री बालेनलाई हस्तान्तरण गरेका थिए। श्रीवास्तवले प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री बालेनले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
सरकार गठन लगत्तै प्रधानमन्त्री बालेनले विदेशी कूटनीतिज्ञसँग ‘वान–टु–वान’ भेट नगर्ने शैली अपनाएका थिए। विदेशी प्रतिनिधिसँग सामूहिक रूपमा भेट गर्ने उनको शैलीलाई कतिपयले कूटनीतिक भेटघाटलाई संस्थागत र पारदर्शी बनाउने प्रयासका रूपमा व्याख्या गरेका थिए।
यसैबीच, २०८३ वैशाख २८ अर्थात् ११ मे २०२६ मा नेपाल भ्रमण गर्ने तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। दुईदिने भ्रमणका क्रममा मिस्रीले नेपाली उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिने तयारी रहेको बताइएको थियो। त्यसबेला केही सञ्चारमाध्यममा प्रधानमन्त्री बालेनले विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने नीति लिएको र मिस्रीसँग पनि ‘वान–टु–वान’ भेट गर्न अस्वीकार गरेपछि भ्रमण स्थगित भएको दाबी सार्वजनिक भएको थियो। यद्यपि भ्रमण स्थगित हुनुको यही कारणलाई नेपाल वा भारत सरकारले औपचारिक रूपमा पुष्टि गरेको थिएन। नेपाल–भारतबीच लिपुलेकसहितका सीमा तथा कूटनीतिक विषय पनि त्यस समय चर्चामा थिए।
त्यसको केही महिनापछि(आज , साउन २५ २०८३)मा भारतीय राजदूतसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान–टु–वान’ भेट गर्नुलाई कूटनीतिक शैलीमा आएको परिवर्तनका रूपमा राजनीतिक वृतमा चर्चा हुन थालेकाे छ । यसले प्रधानमन्त्री बालेन भारतसँगको सम्बन्धलाई टकरावभन्दा संवाद, आर्थिक सहकार्य र व्यावहारिक कूटनीतिको बाटोबाट अघि बढाउन खोजिरहेको देखिन्छ।
स्रोतका अनुसार साेमबार भएकाे भेटमा भारतीय राजदूत श्रीवास्तवले बालेन नेतृत्वको सरकारलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो। भारतले तत्काल सीमा विवादलाई प्राथमिकतामा नराखी आर्थिक कूटनीति, विकास साझेदारी र आपसी सहकार्यलाई प्राथमिकता दिन खोजेको स्रोतको दाबी छ।
त्यसैगरी, प्रधानमन्त्री बालेनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने जानकारी भारतीय राजदूतलाई दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री बालेनकाे पहिलो विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयमा चर्चा भइरहेकाे बेला प्रधानमन्त्री बालेनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्ने जानकारी दिएसँगै दुई देशबीचको सम्बन्धलाई प्राथमिकतामा राखिएको बुझिएको छ ।
यसमा भारतीय राजदूत श्रीवास्तवकाे भूमिकालाई पनि महत्वपूर्ण रुपमा हेरिएकाे छ । राजदूत श्रीवास्तवलाई सार्वजनिक रूपमा धेरै नबोली कूटनीतिक तहमा निरन्तर संवाद र समन्वयलाई प्राथमिकता दिने परिपक्व कूटनीतिज्ञका रूपमा हेरिन्छ। नेपालमा उनको कार्यकालमा भारत–नेपाल सम्बन्धका विभिन्न क्षेत्रमा संवाद र सहकार्यलाई निरन्तरता दिने प्रयास भएको देखिन्छ।
यो पहिलो भेटपछि नेपाल–भारत सम्बन्धले कुन दिशा लिन्छ भन्ने हो—सीमा र राजनीतिक संवेदनशीलताका विषयलाई संवादमार्फत व्यवस्थापन गर्दै आर्थिक विकास, ऊर्जा, पूर्वाधार, व्यापार तथा विकास साझेदारीमा सम्बन्धलाई नयाँ उचाइमा बालेन सरकराले पुर्याउँछ की पुर्याउँदैन भनेर हेर्न केही समय पर्खिनुपर्नेछ । अन्तत: बालेन–श्रीवास्तव भेटले कम्तीमा एउटा सन्देश भने दिएको छ—कूटनीतिमा दूरी सधैँ समाधान होइन, संवाद नै सम्बन्ध व्यवस्थापनको पहिलो आधार हो।




प्रतिक्रिया