गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण


दमौली (तनहुँ), २५ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुको रगत परीक्षण सेवा उपलब्ध गराउने कार्यालय तनहुँ मात्रै हो । रगत परीक्षणबाट पशुमा देखिने विभिन्न रोग छिटो पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वासनीय बनेको छ ।

उनले भने, “रगत परीक्षणबाट पशुमा देखिएका विभिन्न रोग तथा स्वास्थ्य समस्याको अवस्था पहिचान गरी त्यसैका आधारमा उपचार गर्न सकिने भएकाले उपचार प्रक्रिया थप प्रभावकारी र विश्वसनीय बनेको छ ।”

पशुले रोगका लक्षण देखाएपछि त्यसका आधारमा मात्र उपचार गरिँदा रोगको वास्तविक कारण पहिचान गर्न कठिन हुने अवस्थामा रगत परीक्षण गरी रोग पहिचान गर्न सकिने हुँदा पशु उपचारमा आधुनिक स्वास्थ्य परीक्षणको महत्त्व बढेको कार्यालयले जनाएको छ ।

कार्यालयले पशुहरूको हड्डीसम्बन्धी शल्यक्रिया सेवा सुरु गरेको छ । दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नीसम्बन्धी समस्या भएका पशुहरूको जिल्लामै शल्यक्रिया गरी उपचार गर्न सकिने उनले बताए ।

यसअघि यस्ता जटिल समस्या भएका पशुलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने अवस्था थियो । पशुलाई लामो दूरीसम्म लैजाँदा थप समस्या हुने तथा किसानलाई अतिरिक्त खर्चसमेत लाग्ने गरेको थियो । जिल्लामै शल्यक्रिया सेवा उपलब्ध भएपछि किसानले समय र खर्च दुवै बचत गर्न सक्ने भएका छन् ।

यस्तै भिडिओ एक्स–रे सेवासमेत सञ्चालनमा आइसकेको छ । आधुनिक उपकरणमार्फत पशुको आन्तरिक अवस्थाको स्पष्ट परीक्षण गरी रोगको सही निदान र उपचार गर्न त्यो सेवा प्रभावकारी हुने अधिकारीले जानकारी दिए ।

उक्त सेवा प्रभावकारी सञ्चालनमा आएसँगै पशुवस्तु उपचारका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालक किसानले आवश्यक परे तनहुँबाट ती विशेष सेवाको लाभ लिन सक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा दुई हजार ६२ किसानलाई प्रयोगशाला सेवा उपलब्ध गराएको छ । तीन हजार ९१९ किसानका पशुलाई उपचार सेवा उपलब्ध गराइएको कार्यालय प्रमुख अधिकारीले बताए ।