प्रहरी हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै रकम लिने एक जना पक्राउ


काठमाडौँ ।  अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा सर्लाहीबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत शनिबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चौधरीले सोही स्थानका राजेन्द्र रायसँगको मिलेमतोमा प्रहरी कर्मचारीलाई प्रभावित पारेर मानिस छुटाइदिने भन्दै रकम उठाएका थिए। चौधरी पक्राउ परेलगत्तै फरार भएका राजेन्द्रको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले प्रहरीले प्रदान गर्ने सम्पूर्ण सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने स्पष्ट पार्दै यस्ता प्रलोभन र ठगीमा नपर्न तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।