काठमाडौँ । आज देशका केही नदीहरूमा बाढीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै यिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।
ठुला नदीहरूमा अवस्था सामान्य रहे पनि पहाडी तथा हिमाली भूभागका स(साना नदी र खोलाहरूमा भने आकस्मिक बाढीको खतरा औँल्याइएको छ। महाशाखाले सोमबार देशका ३२ जिल्ला भई बहने स(साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।
पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदीमा जलसतह बढ्न सक्नेछ। यसैगरी गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटीका आसपास भई बहने खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।





प्रतिक्रिया