रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/०१/१५ को निर्णयअनुसार उद्योगमा रहेको सरकारी लगानीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी काम भइरहेको कम्पनीले जनाएको छ।
सम्पत्ति तथा दायित्वको मूल्याङ्कन अर्थात् ड्यु डिलिजेन्स अडिट भइरहेकाले कारखानाले मंगलबार २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई लेनदेन वा हरहिसाबसम्बन्धी कुनै दाबी भए प्रमाणसहित पेस गर्न भनिएको छ।
अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लिनदिन बाँकी रहेको हरहिसाब भए सूचना प्रकाशित भएको २१ दिनभित्र बुटवल-१० स्थित उद्योग स्थलमा दाबी पेस गर्नुपर्नेछ। यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका सबै व्यक्ति तथा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ।
तोकिएको २१ दिनको समयभित्र कम्पनीले उद्योगलाई तिर्न बुझाउन बाँकी रहेका सबैले हिसाब मिलान गर्न आग्रह गरेको छ। उक्त समयभित्र कुनै दाबी पेश नभएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने व्यहोरा समेत सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ।





प्रतिक्रिया