एमालेले भन्यो- प्रधानमन्त्री बालेन सदनप्रति उत्तरदायी भएनन्


काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन शाह सदनप्रति उत्तरदायी नभएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख डीपी अर्याललाई प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने प्रयास गर्न आग्रह गरे ।

उनले सिमा विवाद बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि दिल्लीलाई खुसी पार्नलाई सो अभिव्यक्ति दिएको आरोप लगाए।

‘तपाईँ जस्तो शालीन, अनुभवी, योग्य व्यक्तित्व हामीले पाएका छौँ, हामीलाई गर्व छ। तपाईँले पनि प्रधानमन्त्रीजीसँग वार्ता गरी आफ्ना अभिव्यक्ति फिर्ता लिन प्रयास गरिदिनुस्। प्रधानमन्त्रीजी जिद्दी स्वभावको हुनुहुन्छ, मलाई लाग्दैन उहाँ रोस्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ,’ उनले सभामुखलाई भने ।

उनले सभामुखले नै पहल गरेर संसद्को अभिलेखबाट प्रधानमन्त्रीको भनाइलाई हटाइदिन आग्रह गरे। उनले भने, ‘जनताले तपाईँलाई बहुमत प्रदान गरेको छ। संसद्को बैठकमा ठिक वा बेठीक छुट्टाउने प्रयास गर्नुस्। सबैमा ढ्यापढ्याप नगर्नुस्। यो क्रियाकलापले आगामी दिनमा तपाईँहरूलाई पनि भलो हुँदैन।’