काठमाडौँ । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध पुनः देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ।
संगठनका अध्यक्ष विकेश साहले मंगलबार विज्ञप्ति जारी गर्दै आउँदो भदौ २३ गते ‘फेक शासनविरुद्ध असल शासन’ नाराका साथ प्रदर्शन उत्रिने जनाएका हुन्।
आन्दोलनको मुख्य उद्देश्य सरकार फेर्ने मात्र नभई समग्र ‘सिस्टम’मै आमूल परिवर्तन ल्याउनु भए पनि केही स्वार्थी समूहले आन्दोलन हाइज्याक गरी पात्र फेर्ने खेलमा मात्र सीमित पारेको अध्यक्ष साहको आरोप छ।
विज्ञप्तिमा आन्दोलनका सहिद तथा घाइतेहरू सहाराविहीन बनेको र आम जनतामा निराशा छाएको उल्लेख गर्दै वर्तमान सरकारको चरित्र दमनकारी रहेको ठहर गरिएको छ। सुकुम्बासी उठिबास, युवामाथि गोली, संवैधानिक निकायको मानमर्दन र नागरिक अधिकारमाथिको प्रहारमा सरकार लिप्त रहेको संगठनले जनाएको छ।
साथै, चार महिना बित्दा पनि किसानले मल नपाएको, मूल्यवृद्धि र कर आतङ्क चुलिएको तथा ग्यासको लाइनजस्ता सास्ती कायमै राखेर सरकार ‘काण्डै-काण्डको शृङ्खला’मा अल्झिएको विज्ञप्तिमा उल्लेख छ।





प्रतिक्रिया