काठमाडौं, साउन २७ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवालाई केवल मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले हेर्नुपर्ने बताएका छन्।
उनले १६ देखि ४० वर्ष उमेर समूहका युवा जनसंख्या ४२।५६ प्रतिशत रहेको उल्लेख गर्दै यो नेपालको ‘जनसांख्यिक लाभांश’ का रूपमा रहेको बताएका छन् । तर, रोजगारी र अवसरको खोजीमा दैनिक करिब २ हजार युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।
उनले शुभकामना सन्देशमा जेनजी आन्दोलन र उनीहरुका माग सम्बोधनको विषय पनि उल्लेख गरेका छन् । जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको बताउँदै उनले त्यसपछि भएको निर्वाचनमा पनि युवासहितका मतदाताले परिवर्तनको चाहना मतमार्फत व्यक्त गरेको बताएका छन् ।
आङदेम्बेले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै प्रयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको उल्लेख गरेका छन्। उनले तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।
उनले साढे चार महिनाको अवधिमा एक जना युवालाई पनि स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको टिप्पणी गर्दै युवाको अधिकार, सहभागिता र भविष्यका विषयमा राज्यले गम्भीर बहस गर्नुपर्ने बताएका छन्।




प्रतिक्रिया