काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई केवल मतदान गर्ने जमातका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले नेपालमा ठूलो युवा जनसंख्या रहे पनि रोजगारी र अवसरको खोजीमा दैनिक ठूलो संख्यामा युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण भएको बताएका हुन्।
२०७८ सालको जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै उनले यसलाई नेपालको महत्वपूर्ण जनसांख्यिक लाभांशका रूपमा सदुपयोग गर्नुपर्ने बताए।
आङदेम्बेले २०८२ सालको भदौ तेस्रो साता भएको जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको दाबी गरे। त्यसपछि भएको निर्वाचनमा पनि युवासहितका मतदाताले परिवर्तनको चाहना मतमार्फत व्यक्त गरेको उनको भनाइ छ।
तर, जेनजीले खोजेको रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने योजना कहाँ पुगेको भन्दै उनले सरकारप्रति प्रश्न उठाएका छन्। ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’ उनले प्रश्न गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै चुनावअघि अमेरिका, क्यानडा र युरोपका विभिन्न स्थानमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने तथा विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरिएको स्मरण गराउँदै आङ्देम्बेले सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको बताए।




प्रतिक्रिया