मोन्ट्रा इलेक्ट्रिकको थ्री–ह्विलर ‘सुपर अटो’ नेपालमा सार्वजनिक


  • मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो ईथ्री ह्विलरका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय बजार बनेको छ
  • पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र विभिन्न ड्राइभ मोडसहितको मोन्ट्रा इलेक्ट्रिक सुपर अटो नेपालको उच्च एवम् कठिन भूभागका लागि उपयुक्त

काठमाडौं । मोन्ट्रा इलेक्ट्रिकले नेपालमा विद्युतीय गतिशीलताको विस्तारलाई लक्षित गर्दै आफ्नो नयाँ पुस्ताको विद्युतीय सवारीसाधन थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ। मोन्ट्रा इलेक्ट्रिकको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गर्दै काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले उक्त सवारीसाधनको औपचारिक अनावरण गरेको हो ।

पूर्णतया विद्युतीय तथा डिजिटल उपकरणयुक्त यो सवारी नेपाली सडक तथा भू–भागको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो थ्री–ह्विलरका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय बजार बनेको छ। विभिन्न ड्राइभ मोड, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा अन्य आधुनिक सुविधासहितको यो सवारी कठिन भू–भागमा समेत सञ्चालनका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।

पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकल क्षेत्रमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो आधिकारिक राष्ट्रिय वितरक HIPCO ट्रेडिङ प्रा.लि. मार्फत नेपाली बजारमा प्रवेश गरेको हो।

कम्पनीले सुपर अटोको इन्जिनियरिङ तथा विकास नेपालका सडक र भू–भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपाली बजारको आवश्यकतालाई ध्यानमा राखेर गरिएको जनाएको छ।

यसलाई नेपाली बजारका लागि विशेष रूपमा तयार गरिएको विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ।
विद्युतीय सवारीतर्फको बढ्दो आकर्षण र देशमा विद्युत् उत्पादनमा भइरहेको वृद्धिका कारण नेपालमा इलेक्ट्रिक मोबिलिटीको सम्भावना उच्च रहेको कम्पनीको भनाइ छ।

आन्तरिक दहन इन्जिन (ICE) भएका सवारीसाधनको तुलनामा विद्युतीय सवारीलाई सरकारले दिँदै आएको कर तथा भन्सारसम्बन्धी सुविधाले समेत पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न चालक तथा यात्रुलाई आर्थिक लाभ पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विद्युतीय गाडीमा रूपान्तरण गर्दा चालक तथा फ्लीट सञ्चालकको कुल स्वामित्व लागतमा प्रत्यक्ष लाभ पुग्छ। कम सञ्चालन खर्च, कम मर्मतसम्भार खर्च तथा इन्धनको मूल्यमा हुने उतारचढावबाट हुने प्रभाव कम हुने भएकाले यसले दीर्घकालीन रूपमा आर्थिक बचत गराउने दाबी गरिएको छ।

सुपर अटोले चालक र यात्रुको दैनिक यात्रालाई सहज र सुरक्षित बनाउने सुविधासमेत प्रदान गर्ने कम्पनीको भनाइ छ। चालकलाई उपलब्ध गराइने सेवाको गुणस्तर र यात्रुलाई प्रदान गरिने आरामलाई प्राथमिकतामा राखिएको जनाइएको छ। आधुनिक डिजाइन, आरामदायी यात्राको अनुभव र उन्नत प्रविधिमार्फत चालकको दैनिक आम्दानी बढाउन तथा ग्राहकलाई पुनः सेवा लिन प्रेरित गर्ने लक्ष्य कम्पनीले राखेको छ।

नेपालको पहाडी भू–भागलाई समेत ध्यानमा राखेर सुपर अटोको निर्माण गरिएको कम्पनीले जनाएको छ। पर्याप्त ग्राउन्ड क्लियरेन्स तथा आवश्यक क्षमतासहित तयार गरिएको यो विद्युतीय थ्री–ह्विलरले उकालो तथा कठिन सडकमा समेत प्रभावकारी प्रदर्शन गर्ने दाबी गरिएको छ। साथै, हिल–होल्ड असिस्ट सुविधाले उकालोमा सवारी रोकिएपछि सुरक्षित र सहज रूपमा पुनः स्टार्ट गर्न सहयोग गर्ने बताइएको छ।

मोन्ट्रा इलेक्ट्रिकले सुपर अटोमार्फत नेपालमा विद्युतीय व्यावसायिक सवारीको बजार विस्तारसँगै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन योगदान पुग्ने अपेक्षा गरेको छ। कम्पनीले नेपाली चालक, यात्रु तथा फ्लीट सञ्चालकको आवश्यकता सम्बोधन गर्दै विद्युतीय यातायातको दिगो विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ।

९ kWh ब्याट्री प्याक र PMSM मोटरबाट सञ्चालित सुपर अटोले आफ्नो सेगमेन्टमै उत्कृष्ट ६० Nm टर्क प्रदान गर्छ। यसले एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्छ। ४.५ घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्छ। विभिन्न ड्राइभ मोडले फरक-फरक लोड र सडक अवस्थाअनुसार सवारी चलाउन सहज बनाउँछन्। यी मोडले शक्तिको सहज वितरण सुनिश्चित गर्दै परम्परागत गियरमा आधारित सवारीसाधनमा अनुभव हुने झट्का कम गर्छन्।

अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप थ्री-ह्विलरको सार्वजनिकसँगै नेपालमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन र आयातित इन्धनमाथिको निर्भरता घटाउन यस्ता विद्युतीय सवारीसाधनको प्रवर्द्धन आवश्यक रहेको बताए ।

​त्यसैगरी, आधिकारिक वितरक हिप्को ट्रेडिङ प्रा. लि.का निर्देशक हिमांशु गोल्छाले नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड भएको उल्लेख गर्दै सुपर अटोको आगमन आयातित इन्धनमाथिको निर्भरता र प्रदूषण घटाउनेतर्फको पहिलो कदम भएको बताए । `नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड हुन्। लामो समयदेखि हामीले हाम्रो आर्थिक विकासको मूल्य ठूलो इन्धन आयात खर्चका रूपमा चुकाउँदै आएका छौँ। सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो,´ उनले भने ।

​यसै घोषणाबारे बोल्दै मोन्ट्रा इलेक्ट्रिक (TI क्लिन मोबिलिटी प्रा. लि.) का अध्यक्ष अरुण मुरुगप्पनले स्थानीय आवश्यकतामा आधारित मोन्ट्रा इलेक्ट्रिकको इन्जिनियरिङ उत्कृष्टताले लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए । नेपालको नवीकरणीय ऊर्जाको क्षमता र मोन्ट्राको मोबिलिटीसम्बन्धी इनोभेसनले यो साझेदारीलाई आपसमा अनुकूल बनाएको भन्दै भारतीय इन्जिनियरिङले छिमेकी अर्थतन्त्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई हेरिएको उनको तर्क छ ।

​त्यस्तै, मोन्ट्रा इलेक्ट्रिकका प्रबन्ध निर्देशक जलज गुप्ताले भारतको तीव्र रूपमा बढिरहेको कमर्सियल भेहिकल क्षेत्रमा अग्रणी रहेको मोन्ट्राका लागि नेपाल प्रवेश दिगो मोबिलिटीको विश्वव्यापी यात्राको महत्त्वपूर्ण अध्याय भएको बताए । नेपालको अतिरिक्त विद्युत् क्षमतालाई उपयोग गर्दै यसले स्वच्छ र आत्मनिर्भर भविष्यतर्फ अघि बढ्न सहयोग पुर्‍याउने उनलेे स्पष्ट पारे ।

साथै, हिप्को ट्रेडिङका निर्देशक सिद्धार्थ जोजोडियाले यो सुरुवात मोन्ट्रा र हिप्को ट्रेडिङबिचको दीर्घकालीन साझेदारीको प्रारम्भ भएको बताउँदै नेपालभर विस्तार भइरहेको डिलर तथा सर्भिस नेटवर्कमार्फत बिक्री, सर्भिस, स्पेयर पार्ट्स र ग्राहक सहायता उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।