`राजाको शासनमा समेत खुलेको रिपोर्टर्स क्लब भाडा तिरेको ४० दिन बित्दा पनि खुलेन ´


काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले राजाको शासनकालदेखि नै शक्तिशाली रूपमा सञ्चालन हुँदै आएको रिपोर्टर्स क्लब अहिले बन्द हुनु दुःखद भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा धमलाले अन्य सञ्चारमाध्यम जान नसकेको अवस्थामा समेत रिपोर्टर्स क्लबले सडकमा उत्रिएर लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा साथ दिएको दाबी गरे ।

उनले रिपोर्टर्स क्लबले देशमा नयाँ परिवर्तन आवश्यक रहेको भन्दै जेनजी आन्दोलनलाई समेत साथ दिएको बताए । क्लब सधैं देश र जनताको पक्षमा, लोकतन्त्र र विधिको शासनको पक्षमा उभिएको उनको भनाइ छ ।

‘रिपोर्टर्स क्लबले देशमा नयाँ परिवर्तन आवश्यक छ भनेर जेनजीहरूलाई साथ दियो । देश र जनताको पक्षमा उभियो । लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा उभियो,’ धमलाले भने ।

रिपोर्टर्स क्लबले स्थापनाकालदेखि अहिलेसम्म कुनै गलत काम नगरेको दाबी गर्दै उनले सधैं देश र जनताको हितमा काम गर्दै आएको बताए । क्लबले सही सूचना प्रवाह गर्नुका साथै भुइँमान्छे, पीडित, गरिब, निमुखा तथा असहाय नागरिकको आवाजलाई प्राथमिकता दिएको उनले बताए ।

आर्थिक रूपमा विपन्न नागरिकलाई समेत आफ्ना समस्या र आवाज सार्वजनिक गर्ने अवसर रिपोर्टर्स क्लबले दिँदै आएको धमलाको भनाइ थियो ।
‘रिपोर्टर्स क्लबले कहिल्यै गलत काम गरेन । जहिल्यै देश र जनताको लागि काम गर्‍यो । सही सूचना दियो, भुइँमान्छेलाई स्थान दियो, पीडितलाई साथ दियो । गरिब, निमुखा र असहायको आवाजलाई बुलन्द गर्‍यो । आर्थिक रूपमा विपन्नलाई पनि ठाउँ दियो,’ उनले भने ।

तर, समाज कल्याण परिषद्सँगको सम्झौताअनुसार क्लबले भाडा तिरेको ४० दिन बितिसक्दा पनि क्लब नखुलेको धमलाले गुनासो गरे ।

धमलाले रिपोर्टर्स क्लब स्थापनाकालदेखि नै कुनै व्यक्ति, दल वा समूहप्रति पूर्वाग्रही नभई निष्पक्ष, तटस्थ र स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको दाबी गरे । ‘रिपोर्टर्स क्लब कोहीप्रति पूर्वाग्रही भएन । सधैं निष्पक्ष, तटस्थ र स्वतन्त्र भएर आवाजविहीनहरूको साथमा उभियो,’ उनले भने ।