`राज्य रिपोर्टर्स क्लबको घरबेटी हो, भाडा तिरिसकेपछि क्लब खोल्नुपर्छ,’ : वाईसीएल नेता ओली


काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष पुष्प ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले जेनजी आन्दोलनबाट वर्तमान सरकार स्थापित भएको उल्लेख गर्दै सरकारले युवाका अपेक्षा पूरा गर्नुपर्ने बताए ।

उनले सरकारले रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । देशमा युवामैत्री समाज, युवामैत्री कानुन र युवामैत्री राज्य निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

रिपोर्टर्स क्लब बन्द भएको विषयमा बोल्दै ओलीले राज्य स्वयं क्लबको ‘घरबेटी’को भूमिकामा रहेको तर्क गरे । घरबेटीलाई सम्झौताअनुसार भाडा तिरिसकेपछि कोठा खोल्नुपर्ने भन्दै उनले रिपोर्टर्स क्लबले पनि भाडा तिरिसकेको अवस्थामा तत्काल सञ्चालन गर्न दिनुपर्ने बताए ।

‘राज्य रिपोर्टर्स क्लबको घरबेटीको रूपमा रहेको छ । भाडा तिरिसकेपछि क्लब खोल्नुपर्छ,’ ओलीले भने ।