काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन्।
नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधान न्यायाधीश शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताए।
उनले स्वतन्त्र, निश्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गरे। आत्ममूल्याङ्कन गर्ने दिनका रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाफदेहिताको सफल अभ्यास गर्न उनले आग्रह गरे।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन दशकदेखि निरन्तर काम गर्दै परिषद्ले न्याय समाजको मार्गदर्शकको रूपमा काम गरिरहेको बताए। उनले आगामी दिनमा कानुन व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्रै नभएर व्यावसायिक सुुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए।
महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष डा. नारायणदत्त कँडेलले परिषद्को आत्ममूल्याङ्कनको दिनका रूपमा मनाइएको र आगामी दिनमा थप व्यावसायिक तथा पारदर्शी तरिकाले काम गर्ने बताए। उनले परिषद्को संरचना प्रदेशस्तरमा पनि विस्तार गर्ने उल्लेख गर्दै सक्षम र मर्यादित कानुन व्यवसायी बनाई विधिको शासनमा सघाउ पुर्याउने प्रतिबद्धता व्यक्त गरे। रासस




प्रतिक्रिया