किशोर श्रेष्ठलाई गिरफ्तार गरेपछि महेश बस्नेतको आपत्ति, भने- प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप


काठमाडौं, साउन २७ । जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाएका छन्। सरकारविरुद्ध समाचार सम्प्रेषण गरेकै आधारमा रातारात गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ छ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले पत्रकार श्रेष्ठको पत्रकारिता शैलीप्रति आफ्नो असहमति रहे पनि पक्राउ गर्ने सरकारको कदम गलत भएको बताए।

‘समाचार सरकारको विरुद्धमा भयो वा सरकारलाई चित्त नबुझ्ने समाचार सम्प्रेषण गरेकै आधारमा गिरफ्तारी गरिनु उचित होइन। रातारात गिरफ्तार गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले गरेको हस्तक्षेप गम्भीर र आपत्तिजनक छ,’ बस्नेतले लेखेका छन्, ‘लोकतन्त्रमा आलोचनालाई दमन गरेर होइन; तथ्य, तर्क र कानुनी प्रक्रियाबाट जवाफ दिनुपर्छ।’

प्रहरीले पत्रकार श्रेष्ठलाई आज ललितपुरको बागडोलबाट नियन्त्रणमा लिएको छ।