काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठनका लागि भएको सहकार्य पार्टी दर्ता नहुँदै टुटेको छ । दुवै पक्षबीच पछिल्लो समय नेतृत्वको वरियता र सार्वजनिक अभिव्यक्तिलाई लिएर विवाद चर्किएपछि सहकार्य टुट्ने पक्का भएको स्रोतले बतायो ।
राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा यसअघि नै भइसकेको थियो । प्रस्तावित पार्टीमा प्रसाईंलाई ‘सर्वोच्च नेता’को हैसियत दिने र आगामी निर्वाचनपछि उनलाई पार्टीको संसदीय दलको नेता बनाउने समझदारी भएको बताइएको थियो ।
यही समझदारीअनुसार साउन २९ गते निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी धवला-दुर्गाले गरेको थियो ।
तर, पछिल्लो समय प्रसाईं पक्षबाट पार्टीभित्र पहिलो वरियता आफूले पाउनुपर्ने माग अघि सारिएको राणानिकट नेताहरूको दाबी छ । यसअघि भने प्रसाईंले नै धवलशम्शेरलाई अभिभावकको रूपमा स्वीकार गर्दै आफूले कुनै वरियता नखोज्ने धारणा राखेको उनीहरूको भनाइ छ ।
पछिल्लो विवादको मुख्य कारण भने दुवै नेताबीचको सार्वजनिक आरोप–प्रत्यारोप बनेको छ । राणाले प्राइम टेलिभिजनको अन्तर्वार्तामा दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाट भएको बताएका थिए । राणाको उक्त अभिव्यक्तिप्रति प्रसाईंले कडा आपत्ति जनाएका हुन् ।
प्रसाईंले ‘हाम्रो सन्देश’ नामक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा राणाको अभिव्यक्तिले राजसंस्थालाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नै प्रस्तावित पार्टीभित्र ‘सीआईए’ अर्थात् अमेरिकी गुप्तचर संस्था प्रवेश गरेको हो कि भन्ने प्रश्नसमेत उठाए ।
‘मेरो पार्टीको अध्यक्षले बोलेको कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ,’ प्रसाईंले भनेका छन्, ‘तथ्यगत कुरालाई आज मोडेर दरबार कमजोर बनाउनलाई धवल दाइ लाग्नुहुन्छ भने उहाँले कस्तो राजसंस्था खोजेको हो ?’
प्रसाईंको उक्त अभिव्यक्तिपछि राणा पक्ष झनै असन्तुष्ट बनेको स्रोतको दाबी छ । राणानिकट नेताहरूका अनुसार प्रसाईंले जुन सञ्चारमाध्यममार्फत आरोप लगाएका हुन्, त्यही माध्यमबाट सार्वजनिक रूपमा माफी माग्नुपर्ने राणाको अडान छ ।
राणाले आफूलाई सीआईएको एजेन्ट भनेर लगाइएको आरोपमा कुनै सत्यता नभएको निकटस्थ नेताहरूसँग स्पष्ट पारेका छन् । आफूले बोलेको विषयमा राजनीतिक तथा ऐतिहासिक दृष्टिकोण राखेको भन्दै त्यसलाई विदेशी शक्तिसँग जोड्नु अनुचित भएको उनको भनाइ छ ।
यसैबीच, राणा पक्षले पूर्वनिर्धारित योजनाअनुसार साउन २९ गते नै ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको को छ । प्रसाईंले सार्वजनिक रूपमा माफी माग्नुपर्ने राणाको अडानलाई प्रसाइँले अस्विकार गरेको स्रोतको भनाइ छ । प्रसाइँनिकट स्रोतका अनुसार राणा-प्रसाइँको सहकार्यको बाटो तत्कालको लागि टुंगीएको छ ।




प्रतिक्रिया