बालेन सरकार एक्सनमा : उद्योगमन्त्रीको कदमपछि वर्षौँदेखि रोकिएको बक्यौता एकैपटक ५१ करोड असुल


काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ सरकारी खातामा फर्किएको हो।

मन्त्रालयका अनुसार करिब ४० वर्षदेखि असुल हुन नसकेको उद्योगको भाडा बक्यौतासमेत पछिल्लो समय उठ्न थालेको छ। राज्यलाई तिर्नुपर्ने रकम लामो समयदेखि बाँकी राखेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न मन्त्री यादवले निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

यसैक्रममा कन्टिनेन्टलबाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुल भएको छ। योसँगै हालसम्म उद्योगहरूको बक्यौताबापत कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुली भइसकेको छ।

बक्यौता असुलीसँगै लामो समयदेखि अवरुद्ध उद्योग सञ्चालनलाई सहज बनाउने कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ।

विद्युत् बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन भने काटिएको अवस्थामा छन्। मन्त्रालयले बक्यौता भुक्तानी तथा उद्योग सञ्चालनसँग सम्बन्धित विषयमा आवश्यक सहजीकरण गर्दै असुली अभियानलाई निरन्तरता दिने जनाएको छ।