काठमाडौँ । ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनापछि आज बिहान प्रहरीले पत्रिकाको कार्यालयमा पुगेर छापा मारेको छ। हिजो राति घरबाटै श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले मध्यराति १ बजे उहाँको निवासमा समेत छानबिन गरेको थियो।
कार्यालय स्रोतका अनुसार आज बिहानै पुगेको प्रहरी टोलीले सम्पादक श्रेष्ठको कार्यकक्षका साथै समाचारकक्षमा प्रवेश गरी कागजात तथा सामाग्रीहरूको छानबिन थालेको छ।
समाचार प्रकाशनसँग जोडिएको विषयलाई लिएर सम्पादक पक्राउ पर्नुका साथै सञ्चारगृहमा प्रहरी प्रवेश गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय थप पेचिलो बनेको छ। घटनाको विरोध गर्दै नेपाल पत्रकार महासङ्घसहित विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले मध्यरातमै प्रहरी कार्यालय पुगेर धर्ना दिएका छन्।
यसैबिच, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि समाचार लेखेकै आधारमा कानुनी प्रक्रिया मिचेर धरपकड गरिएको भन्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्। पत्रकार वृत्तले प्रहरीको यस कदमलाई प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भन्दै कडा आपत्ति जनाएका छन्।




प्रतिक्रिया