स्वदेश फर्किएका देउवाले भने-‘म नेता बनेर होइन, आजीवन नागरिक बनेर फर्किएको छु’


काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएलगत्तै देउवाले पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकलाई सम्बोधन गर्दै आफू नेता बनेर नभई देशको आजीवन नागरिक बनेर स्वदेश फर्किएको बताएका छन् ।

उनले भनेका छन्, ‘म नेता बनेर होइन, आजीवन नागरिक बनेर फर्किएको छु– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु ।’

उनले कांग्रेस केवल एउटा राजनीतिक दल नभई लोकतान्त्रिक इतिहास बोकेको संस्था भएको उल्लेख गर्दै पार्टीले देश र जनताको हितका लागि लामो संघर्ष गरेको स्मरण गरेका छन् ।

उनले २०४६ सालदेखि निरन्तर राजनीतिक सुख, दुःख र संघर्षपूर्ण दिनहरू आफ्ना मानसपटलमा ताजा रहेको बताएका छन् । स्वतन्त्रता, लोकतन्त्र र विकासका लागि आफूले पार्टीसँग मिलेर काम गर्न पाएकोमा गर्व लागेको उनको भनाइ छ ।

देउवाले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत अग्रजहरूको त्याग र योगदान कहिल्यै भुल्न नहुने बताएका छन् । उनीहरूको योगदानले नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाएको उनको भनाइ छ ।

युवा पुस्ताको आवाज र मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै देउवाले नेपाली कांग्रेसले युवाको भावना र परिवर्तनको आकांक्षालाई आत्मसात् गर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय युवामा देखिएको असन्तुष्टि र आन्दोलनलाई पनि गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन् ।

देउवाले परिवर्तनको अर्थ पुस्ता परिवर्तन मात्रै नभई लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र नागरिक अधिकारलाई अझ बलियो बनाउनु भएको उल्लेख गरेका छन् । वर्तमान सरकारको दायित्व जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु रहेको उनको भनाइ छ ।

उनले कांग्रेसलाई देशका सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका छन् । वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएकाले यसको संरक्षण तथा आवश्यक संशोधनसमेत राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने देउवाले बताएका छन् ।

कांग्रेसभित्र निराश भएका नेता–कार्यकर्ताको मनोबल बढाउँदै पार्टीलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिएका छन् । ‘यदि हामी कतै विचलित भएका छौँ भने सुधार गर्नेछौँ, यदि कतै चुक्यौँ भने पुनः उठ्नेछौँ,’ देउवाले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

उनले आफ्नो राजनीतिक जीवनमा भएका कमी–कमजोरीप्रति आत्मसमीक्षा गर्दै आगामी दिनमा पनि नागरिकका सुझाव, अपेक्षा र आकांक्षालाई मार्गदर्शनका रूपमा लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।