काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीकाअनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समितिमार्फत निर्देशन दिन लागिएको हो ।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार गरी चुस्तदुरुस्त राख्न तथा ती संरचनाको प्रयोग गर्दा सर्वसाधारण नागरिकलाई अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न पनि प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति बुढाथोकीले जानकारी दिए ।
समितिले नेपालमा सञ्चालित उद्योगका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित आवश्यक व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभापति बुढाथोकीले चार वटा विषयगत समितिले गरेको अध्ययनबाट प्राप्त सुझावको आधारमा बैठकमा विभिन्न विषयमा १३ वटा बुँदामा निर्देशन र चार वटा विषयमा सम्बन्धित विषयगत समितिमा जानकारी गराउनेगरी निर्देशन दिने निर्णय गरिएको जानकारी दिए ।




प्रतिक्रिया