अमेरिकी सेनाको हेलिकप्टर टेक्सासमा दुर्घटना दुई सैनिकको मृत्यु


टेक्सास २८ साउन । अमेरिक सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकैको खेतमा दुर्घटनाग्रस्त हुँदा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

सेनाले दुर्घटनामा हेलिकप्टरमा सवार दुवै सैनिकको मृत्यु भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सेनाले मृतक सेनाका सदस्यहरूलाई थप समीक्षाका लागि फोर्ट हुडको कार्ल आर डार्नल आर्मी मेडिकल सेन्टरमा लगिएको बताएको छ ।

क्याभलरी डिभिजनका कार्यवाहक कमान्डिङ जनरल ब्रिगेडियर जनरल इथान डिभेनले यस अविश्वसनीय कठिन समयमा परिवार, साथीहरूप्रति सहनुभुति व्यक्त गर्दै मृत आत्माप्रति श्रदाञ्जलि व्यक्त गरेका छन् । काउन्टी शेरिफको कार्यालयलाई उद्धृत गर्दै सिएनएनले स्यालाडो नजिकैको खेतमा उक्त हेलिकप्टर दुर्घटना भएको रिपोर्ट गरेको छ ।

सिएनएनका अनुसार दुर्घटनाका कारण यस क्षेत्रको ठुलो घाँसे मैदानमा आगलागी भएको थियो भने अधिकारीहरूले दुर्घटना हुँदा हेलिकप्टरले कुनै संरचना वा अन्य मानिसहरूलाई प्रहार नगरेको बताएका छ्रन ।

एएच–६४ अपाचे दुई सिटको आक्रमणकारी हेलिकप्टर हो । यसमा पाइलट सह–पाइलट मात्र रहन्छन् । सन् १९८० को दशकमा यसको थालनी भएदेखि नै यो विमानलाई अमेरिकी सेनाको आक्रमणकारी हेलिकप्टरको प्रमुख यन्त्र बनेको जनाइएको छ ।

हालसम्म दुर्घटनाको कारण थाहा हुन नसकेको जनाइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबटले पनि दुर्घटनामा दुई सैनिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत मृतक सैनिकका परिवार र फोर्ट हुड समुदायप्रति समवेदना व्यक्त गर्दै आफू र श्रीमती सिसिलियाले उनीहरूका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

गभर्नर एबटले टेक्सास तथा अमेरिकाको सेवामा समर्पित सैनिकप्रति राज्य सदैव ऋणी रहने उल्लेख गरेका छन् । उनले फोर्ट हुडको सैन्य कारबाहीका क्रममा बेल काउन्टीमा अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुई सैनिकको ज्यान गएको घटनालाई दुःखद भएको बताएका हुन् ।

फोर्ट हुडले लागू कानून तथा नियमअनुसार अनुसन्धानबाट थप जानकारी प्राप्त हुँदै गएपछि आफ्नो सञ्चारमाध्यम केन्द्रमार्फत घटनासम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै जाने जनाएको छ । घटनाको अनुसन्धान जारी रहेकाले दुर्घटनाको कारण र मृतक सैनिकको पहिचानबारे थप विवरण पछि सार्वजनिक हुने अपेक्षा गरिएको छ । रासस