स्कुले विद्यार्थीलाई पुस्तकको बोझ घटाइने


काठमाडौं । सरकारले स्कुले विद्यार्थीलाई पुस्तकको बोझ घटाउने तयारी गरेको छ । 

राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष बनाउन प्रयोगात्मक शिक्षालाई जोड दिँदै सरकारले पुस्तकको बोझ घटाउने तयारी गरेको हो । यसका लागि सरकारले गठन गरेको कार्यदलले आफ्नो काम अन्तिमतिर पुर्‍याएको छ । 

शिक्षा तथा खेलकुद मन्त्रालयमा आज सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो ।

बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा विधागत समूहका प्रगतिको समीक्षा गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले सबै सरोकारवालाको परामर्श र समन्वयबाट पाठ्यक्रम प्रारूपलाई छिट्टै निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

 कार्यदलका संयोजक प्रा डा बालचन्द्र लुइँटेलले पर्याप्त छलफल र तयारीपछि मात्रै प्रतिवेदनलाई अन्तिम रूप दिइने बताए । 

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ  लगायतका प्रतिनिधिको सहभागिता थियो । रासस