काठमाडौं, २८ साउन । बैङ्किङ कसुर मुद्दामा रु एक करोेड ५८ लाख ५४ हजार ६३० जरिवाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई आज पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतले विभिन्न १० वटा बैंकिङ कसुरका मुद्दा र दुईवटा चेक अनादर मुद्दामा दोषी ठहर गरेको आरोपमा पक्राउ गरिएको हो ।
अदालतले भण्डारीलाई १६ दिन कैद र कुल रु एक करोड ५८ लाख ५४ हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।




प्रतिक्रिया