किशोर श्रेष्ठको पक्राउप्रति मिडिया लयर्स एसोसिएसनको आपत्ति, तत्काल रिहाइको माग


काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक, आस्था प्रकाशन प्रा.लि.का अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति मिडिया लयर्स एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ।
एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले जारी गरेको विज्ञप्तिमा समाचार प्रकाशनसँग सम्बन्धित विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मर्मविपरीत भएको उल्लेख छ।

समाचार प्रकाशनसँग सम्बन्धित गुनासो, उजुरी वा विवाद निरूपणका लागि प्रेस काउन्सिल नेपालजस्तो सम्बन्धित निकाय र स्थापित कानुनी प्रक्रिया हुँदाहुँदै त्यसलाई बेवास्ता गरी पत्रकारलाई फौजदारी कसुरमा पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको एसोसिएसनको ठहर छ।

एसोसिएसनले समाचारमा त्रुटि, तथ्यगत कमजोरी वा पत्रकार आचारसंहिता उल्लङ्घन भएको भए त्यसको परीक्षण र आवश्यक कारबाही प्रेस काउन्सिलमार्फत हुनुपर्ने जनाएको छ। समाचार प्रकाशनकै विषयमा छनोटपूर्ण ढंगले कुनै एक पत्रकारलाई लक्षित गरी पक्राउ तथा अभियोजन गर्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारिता, समाचार स्रोतको सुरक्षा तथा नागरिकको सूचना पाउने र अभिव्यक्ति दिने अधिकारमा प्रतिकूल असर पार्ने विज्ञप्तिमा उल्लेख छ।

‘फौजदारी कानुनलाई पत्रकारलाई सताउने, त्रसित तथा निरुत्साहित गर्ने हतियारका रूपमा प्रयोग गर्नु सर्वथा अस्वीकार्य छ,’ एसोसिएसनले भनेको छ।

त्यस्तै, सम्बन्धित सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासी तथा क्यामेरा, ल्यापटप, मोबाइल फोन र रेकर्डिङ डिभाइस लगायत पत्रकारितासँग सम्बन्धित उपकरण जफत गरिएको घटनाप्रति पनि एसोसिएसनले आपत्ति जनाएको छ।

संविधानको धारा १९ ले सञ्चारसम्बन्धी हक तथा धारा २८ ले गोपनीयताको हक सुनिश्चित गरेको उल्लेख गर्दै एसोसिएसनले कानुनी प्रक्रिया र अदालतको आदेशबिना पत्रकारिता व्यवसायसँग प्रत्यक्ष सम्बन्धित उपकरण तथा सामग्री जफत गर्दा पत्रकारका समाचार स्रोतको सुरक्षा प्रभावित हुने जनाएको छ।

नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (ICCPR) लगायतका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दस्तावेजले समेत अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको स्मरण गराउँदै एसोसिएसनले सरकारले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धता र दायित्वको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ।

एसोसिएसनले समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिलको क्षेत्राधिकार र स्थापित प्रक्रियाबाटै समाधान गर्न, पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न तथा हिरासतमा रहँदा निष्पक्ष र मर्यादित व्यवहार सुनिश्चित गर्न माग गरेको छ।

त्यसैगरी, पत्रकारमाथि फौजदारी कानुनको दुरुपयोग गरी त्रास र दबाब सिर्जना गर्ने प्रवृत्ति रोक्न तथा सञ्चारमाध्यमको कार्यालयबाट जफत गरिएका सम्पूर्ण पत्रकारिता सामग्री तथा उपकरणहरू कुनै सर्त वा बन्देजबिना तत्काल फिर्ता गर्न पनि एसोसिएसनले माग गरेको छ।

Skip This