जकार्ता, २९ साउन। इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीमा बिहीबारदेखि खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो ।
बिरामी विद्यार्थीमा वाकवाकी लाग्ने, बान्ता हुने, छालामा एलर्जी देखिने तथा केहीलाई सास फेर्नसमेत गाह्रो हुने समस्या देखिएको छ । उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय शिक्षा अधिकारी जुल्करनैन बारुसले विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशङ्का गरिएको बताए । उक्त खाना आपूर्ति गर्ने भान्साबाट नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।
बारुसले अस्पताल भर्ना भएका सबै विद्यार्थीको अवस्था अहिले स्थिर रहेको पुष्टि गरे । घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ । रासस




प्रतिक्रिया