सामुदायिक विद्यालय सुधारका लागि महासंघको तीनवर्षे रणनीतिक योजना तयार



काठमाडौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको तीनवर्षे रणनीतिक योजना तथा कार्यशाला तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति अभ्यास केन्द्रको सहकार्यमा साउन २६ देखि २८ गतेसम्म सञ्चालन भएको कार्यशाला सम्पन्न भएको महासंघका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए।


साउन २६ गतेदेखि सुरु भएको कार्यक्रमको उद्घाटन शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले गरेका थिए भने समापन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद मेहेताले गरेका थिए।


महासंघको आगामी तीन वर्षको रणनीतिक योजना निर्माणका लागि सञ्चालन गरिएको कार्यशालामा प्रशिक्षक सोम घिमिरे, गुणराज मुक्तान, गोविन्द कोइराला, पूर्णप्रसाद दवाडी, अभिषेक घिमिरे र युवराज बास्कोटालगायतको सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको गोष्ठीमा सामुदायिक विद्यालयको सुधार, व्यवस्थापन तथा महासंघको आगामी कार्यदिशाबारे छलफल गर्दै तीनवर्षे रणनीतिक योजना तयार गरिएको महासंघले जनाएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री मेहेताले कोशी प्रदेशभित्र रहेका करिब ६ हजार सामुदायिक विद्यालयको सुधारका लागि आवश्यक पहल गर्न प्रदेश सरकार तयार रहेको बताए। सामुदायिक विद्यालयमा रहेका कमजोरी पहिचान गरी सुधारका लागि सबै सरोकारवाला एकढिक्का भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।


त्यस्तै, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले सामुदायिक विद्यालय सुधार अभियानलाई थप मजबुत बनाउन सबै सरोकारवालाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले गुणस्तरीय सामुदायिक शिक्षा निर्माणका लागि विद्यालय, व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा राज्यका सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।


महासंघका अध्यक्ष काशीनाथ दंगालले तीनवर्षे रणनीतिक योजनामार्फत अब सातवटै प्रदेश तथा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको सुधारका लागि महासंघले निरन्तर काम गर्ने बताए। वडा तहदेखि विद्यालयका कक्षाकोठासम्म महासंघले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामुदायिक विद्यालयको पहिलो सूत्र नै विद्यालय सुधार भएको बताए।


उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुनै पनि विद्यार्थी निराश वा हतोत्साहित हुन नपर्ने वातावरण निर्माण गर्न महासंघले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने बताए।

Skip This