ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियान दिल्ली जाने


नयाँदिल्ली, २९ साउन । इरानी राष्ट्रपति मसुद पेजेस्कियान आगामी सेप्टेम्बरमा नयाँदिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा रहेको इरानी स्रोतहरूले शुक्रबार बताएका छन् ।

भारतले सन् २०२६ को अध्यक्षता सम्हाल्दै आयोजना गर्न लागेको सम्मेलनमा पेजेस्कियानको सहभागितालाई इरान–भारत सम्बन्ध र पश्चिम एसियाको पछिल्लो क्षेत्रीय परिस्थितिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

भारतले सन् २०२६ को सुरुआतमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता ग्रहण गरेको हो । ‘लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने विषयवस्तुसहित सम्मेलन आयोजना हुँदैछ ।

इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको थियो । सन् २०२५ मा इन्डोनेसिया पनि समूहमा प्रवेश गरेपछि ब्रिक्सका पूर्ण सदस्यको सङ्ख्या ११ पुगेको छ ।

राष्ट्रपति पेजेस्कियानले यसअघि सन् २०२४ को अक्टोबरमा रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई नेताबीच द्विपक्षीय तथा क्षेत्रीय विषयमा छलफल भएको थियो ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले गत जुनमा भारतमा भएको ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएको थियो । बैठकपछि नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पश्चिम एसियामा बढ्दो तनाव कम गर्न भारतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको थियो ।

अराघचीले सशस्त्र द्वन्द्वको कुनै भविष्य नरहेको र वर्तमान सङ्कटको सैन्य समाधान सम्भव नभएकाले वार्तामार्फत समाधान खोज्नु नै व्यावहारिक बाटो भएको बताएको थियो । उनले पश्चिम एसियामा शान्ति स्थापनाका लागि भारतले रचनात्मक भूमिका निर्वाह गरेमा इरानले स्वागत गर्ने धारणा पनि व्यक्त गरेको थियो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करसँगको भेटमा अराघचीले क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै हर्मुज जलघाँटीको सुरक्षामा इरानले आफ्नो ऐतिहासिक जिम्मेवारी निरन्तर निर्वाह गर्ने बताएको थियो । उनले व्यापारिक गतिविधिको सुरक्षाका लागि मित्र राष्ट्रहरूले इरानलाई भरपर्दो साझेदारका रूपमा लिन सक्ने दाबी गरेको थियो ।

इरानी सरकारले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार अराघचीले ब्रिक्स विदेशमन्त्री बैठकमा पश्चिमी प्रभुत्व अन्त्य गर्न तथा अन्तर्राष्ट्रिय संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने आवश्यकतामा समेत जोड दिएको थियो ।

फेब्रुअरी २८ मा इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि पश्चिम एसियामा जारी तनावपूर्ण अवस्थाबीच राष्ट्रपति पेजेस्कियानको भारत भ्रमण हुन लागेको हो । यस्तो अवस्थामा ब्रिक्स सम्मेलनमा इरानी राष्ट्रपतिको सहभागिताले क्षेत्रीय सुरक्षा, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफललाई थप महत्त्व दिने अपेक्षा गरिएको छ । रासस

Skip This