सुकेधारामा देउवा पक्षको शक्ति प्रदर्शन: को-को पुगे ? के हो भेलाको सन्देश ?


काठमाडौँ । नेपाली कांग्रेसभित्र शक्ति सन्तुलन र महाधिवेशनपछिको भावी दिशालाई लिएर तीव्र रस्साकस्सी चलिरहेका बेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा आयोजित संस्थापनइतर पक्ष (देउवा समूह) को राष्ट्रिय भेला राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।

साउन ३१ गतेसम्म चल्ने गरी तय गरिएको तीनदिने भेला साधारण कार्यकर्ताको जमघट मात्र नभएर पार्टीभित्र आफैँ आधिकारिक भएको रणनीतिस्वरूप आयोजना गरिएको स्पष्ट देखिन्छ।

आयोजक समितिले दिएको जानकारीअनुसार भेलामा पूर्वसभापति शेरबहादुर देउवा, भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा वरिष्ठ नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको उपस्थिति रहेको छ। यस्तै, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, मोहनबहादुर बस्नेत तथा मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, जितजंग बस्नेत, रामहरि खतिवडालगायतका नेता-कार्यकर्ताहरू भेलामा सहभागी छन्।

विशेष महाधिवेशनपछिको बदलिँदो राजनीतिक परिदृश्य र पार्टीको संस्थापन पक्षसँगको बढ्दो दूरीका बीच यो भेला बोलाउनु आफैंमा एउटा ठूलो राजनीतिक सन्देश हो।

गुटगत अस्तित्वको लडाइँ:

विशेष महाधिवेशनपछि रक्षात्मक स्थितिमा पुगेको देउवा समूहले सुकेधारा भेलामार्फत आफ्नो जनाधार अझै कायमै रहेको देखाउन खोजेको छ।

शशांक र शेखरको भूमिका:

शशांक कोइरालालाई संयोजक बनाउनु र शेखर कोइरालाजस्ता नेताहरूलाई एउटै मञ्चमा ल्याउनुले देउवा समूहभित्र पुरानो विरासत र कोइराला परिवारको प्रभावलाई जोडेर व्यापक ध्रुवीकरण गर्ने रणनीति बुझ्न सकिन्छ।

आगामी रणनीति:

साउन ३१ सम्म चल्ने बन्द सत्र र भेलाका निष्कर्षहरूले आगामी दिनमा नेपाली कांग्रेसभित्र संस्थापन (गगन थापा) पक्षसँग गर्ने शक्ति सन्तुलनको खाका तय गर्ने निश्चित छ। यो भेलाले पार्टीभित्रको आन्तरिक किचलोलाई किनारा लगाउन सके मात्रै कांग्रेसको भविष्य उज्ज्वल हुने राजनीतिक विश्लेषकहरुको ठहर छ ।

Skip This