‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’


काठमाडौं, २९ साउन। तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो । काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो ।

सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइरहन्थे । त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उहाँले कल्पनासमेत गरेका थिएनन् । तर समय सधैँ एउटै रहेन । काठ पाउन जङ्गल चहार्नुपर्ने अवस्था आयो । बजारमा पनि आवश्यक परिमाणमा काठ पाउन कठिन हुन थाल्यो ।

अन्ततः कच्चा पदार्थको अभावमा उनको काष्ठ उद्योग बन्द हुने अवस्थामा पुग्यो । उद्योग बन्द हुने पीडाले उनलाई निराश मात्र बनाएन, आफ्नै तरिकाले समस्या समाधान गर्ने अठोट पनि जन्मायो ।

“काठ नै नपाएर उद्योग बन्द गर्नुपर्ने अवस्था अरूलाई नआओस् भन्ने लाग्यो । त्यसपछि आफैँ रुख रोप्छु, आफ्नै वन बनाउँछु भन्ने सोच आयो”, श्रेष्ठ भन्छन् । त्यही सोचले उनलाई व्यवसायीबाट वन उद्यमीतर्फ डोहोर्‍यायो ।

कृषि उत्पादनका लागि उर्वर मानिएको आफ्नो १२ रोपनी जग्गामा मानकाजीले सालका बिरुवा रोप्न थाले । खेतीयोग्य जमिनमा रुख रोप्न थालेपछि कतिपयले उनको निर्णयको आलोचनासमेत गरे ।

कृषि उब्जनी हुने जग्गा किन वन बनाउन लागेको ? भन्दै प्रश्न उठे । तर मानकाजी आफ्नो निर्णयबाट पछि हटेनन् । बुबाको साथ र आफ्नै इच्छाशक्तिले उनलाई अघि बढायो । वर्षौंअघि रोपिएका ती साना बिरुवा अहिले ठूला रुख बनिसकेका छन् ।

बिहानको समय आफ्नै हातले हुर्काएको वनमा बिताउँदा मानकाजीलाई आज पनि उत्तिकै आनन्द लाग्छ । “बिरुवा रोप्ने पहिल्यैदेखिको मेरो रुचि र काठ उद्योगमा कच्चा पदार्थ नपाउँदाको पीडाले मलाई वन आफैँ बनाउनुपर्छ भन्ने लाग्यो ।

त्यसपछि निजी वनमा सालका रुख लगाउन सुरु गरेको हुँ”, श्रेष्ठ भन्छन्, “अहिले त एभोकाडो र कागती पनि लगाएको छु ।” अहिले हरेक बिहान आफैँले बनाएका वनका हरियाली हेर्दै स्वच्छ हावाबाट श्वास फेर्दै चिरबिरचिरबिर चराचुरुङ्गीको आवाजमा हराउँदा उनलाई अझै बढी आनन्द आउने गरेको सुनाउँछन् ।

केही वर्षअघि लगाइएका बिरुवा अहिले रुख बनिसकेका छन् । त्यसपछि अहिले थप ३० रोपनी जग्गामा एभोकाडो र कागतीका बोट लगाएका छन् । मानकाजीका लागि हरित अर्थतन्त्र उत्पादनको स्रोत बनेको छ, उनको निजी वन ।

त्यसबेला उनलाई आजजस्तो वनबाट आम्दानी लिन सकिन्छ भन्ने लागेको थिएन तर सानैदेखि बिरुवा लगाउने, हरियालीमा गएर बस्न, खेल्न मन पराउने उहाँको स्वभाव थियो । त्यही प्रकृतिको मोहले उनलाई वन उद्यमी बनायो ।

पहिला पहिला वनलाई घाँसदाउरा लिन सहज हुन्छ भनेर लगाउने गरिन्थ्यो । वन जीविकोपार्जनमुखी थियो । व्यवसायीमुखी बन्दै जान थालेको छ ।

“बिरुवा रोप्ने पहिल्यैदेखिको मेरो रुचि र काठ उद्योगमा कच्चा पदार्थ नपाउँदाको पीडाले मलाई वन आफैँ बनाउनुपर्छ भन्ने लाग्यो, अनि निजी वनमा सालका रुख लगाउन सुरु गरेको हुँ, अहिले त एभोकाडो र कागती पनि लगाएको छु”, मनकाजी श्रेष्ठ भन्छन्, “अहिले त म काठमाडौंमा छु । तर मलाई कहिले घर पुगेर आफ्नो वन ’round घुमौँ जस्तो भइसक्यो । ’round घुम्दा पनि एकदमै रमाइलो लाग्छ ।”

रुखको सङ्ख्या यकीन गर्न उनलाई नै गाह्रो छ । श्रेष्ठका अनुसार अहिले वनमा रहेका रुखको मूल्य मात्रै हेर्दा लाखौँ रुपैयाँ बराबरको सम्पत्ति तयार भएको छ ।

“रुखहरू त थुप्रै छन्, गनेर साध्य नै छैन”, श्रेष्ठ भन्छन्, “अहिले राम्रोसँग काटेर बेच्न पाउने व्यवस्था भयो भने आधा करोड मूल्य बराबरका रुख बेच्न मिल्ने अवस्थामा छन् ।” एउटा रुख काट्दा त्यसको ठाउँमा नयाँ रुख हुर्काउने र वनलाई निरन्तर उत्पादनशील बनाइराख्ने उनको सोच छ । “यदि १० वटा रुख काटियो भने २० वटा त हुर्काउनुप¥यो नी !”, उनी भन्छन् ।

बुबाको प्रभावले बनायो वन उद्यमी

उनका बुबाको पालादेखि नै घर वरिपरि विभिन्न प्रजातिका रुखबिरुवा रोप्ने गरिएको थियो । त्यसैको प्रभाव आफूमा पनि परेको श्रेष्ठको भनाइ छ ।

“घर वरिपरि पनि रुखबिरुवा रोप्न असाध्यै मन लाग्थ्यो”, उनी भन्छन्, “बुबाहरूको पालादेखि नै रुखबिरुवा रोपिराख्नुहुन्थ्यो ।” पछि उनी आफैँ काष्ठ उद्योगमा जोडिए । उनका अनुसार २०४६/४७ सालतिरै काष्ठ उद्योग सञ्चालनमा थियो ।

उद्योगका लागि काठ आवश्यक पर्न थालेपछि जङ्गल खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न आफैँ बिरूवा रोप्न अग्रसर थिए मानकाजी । काठको आवश्यकता र वनसँगको आफ्नो रुचि जोडिँदै गएपछि श्रेष्ठले आफ्नै जग्गामा रुख हुर्काउने योजनालाई बुबाले साथ दिए । आफ्नै जग्गामा सुरूमा साल, सिसौलगायतका रुख रोप्न थाले ।

सालको वनमा लाखौँको सम्भावना

श्रेष्ठको निजी वनमा प्रायः सालका रुख छन् । उनले लामो समयदेखि सालका रुख संरक्षण गर्दै आएका छन् । वनमा रहेका सालका रुख हुर्किसकेका छन् । झरेका सालका पात पनि ठूलो परिमाणमा छन् । श्रेष्ठको वन उद्यमबाट आर्थिकोपार्जनको सपना काठमा मात्र सीमित छैन । सालको पातबाट दुनाटपरी उत्पादन गर्ने योजना पनि उनको छ ।

सालको पातलाई सामान्यतया वनमा झरेर कुहिने वस्तुका रूपमा हेर्ने गरिए पनि उहाँ त्यसलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने सम्भावना देख्छन् ।

दुनाटपरी उत्पादनका लागि आवश्यक मेसिन, लागत र बजार’bout अध्ययन गरेर स्थानीयलाई रोजगारी दिने उनको योजना छ । “सालका पातबाट दुनाटपरी बनाउने र स्थानीयलाई रोजगारी दिने मेरो इच्छा छ”, उनी भन्छन् ।

वनमा उत्पादन हुने हरेक वस्तुलाई आर्थिक मूल्यमा रूपान्तरण गर्ने श्रेष्ठको योजना प्रशंसनीय छ । सालको रुखबाट काठसँगै पात अर्को उत्पादन बन्न सक्छ । फलफूलले थप आम्दानी दिन सक्छ ।

यसरी एउटै वन स्रोतबाट विभिन्न प्रकारका आर्थिक गतिविधि सिर्जना गर्न सकिने उनको सोच छ । वन हुर्काउन वर्षौं लाग्छ । बिरुवा रोपेको केही समयमै आम्दानी आउँदैन । संरक्षण, गोडमेल, व्यवस्थापन र लामो प्रतीक्षापछि मात्रै रुखले आर्थिक मूल्य प्राप्त गर्छ । श्रेष्ठ निजी वनलाई दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

“रुख हुर्काउनेलाई प्रोत्साहन चाहिन्छ, र काटेर बजारमा बेच्न सहज रूपमा जहिले जतिबेला पनि आउने कानुन व्यवस्था भएमा अझै उत्साह बढ्छ”, उनी भन्छन्, “आफैँले रोपेको बिरुवा आफैँले काट्न पाइएन भने त उत्साह पनि हुँदैन नी ।”

श्रेष्ठको गुनासो भने निजी वनको उत्पादन बजारसम्म लैजाने क्रममा देखिने प्रक्रियागत झन्झटिलोपनमा छ । उनका अनुसार निजी वनसम्बन्धी कानुनी व्यवस्था भए पनि व्यवहारमा रुख कटान तथा उपयोगका क्रममा विभिन्न प्रक्रिया र अवरोधले निजी वनधनीलाई निरुत्साहित बनाउने गरेको छ । “निजी वनमा राम्रो सम्भावना छ, तर सरकारी सम्बन्धित निकायबाट अझै सहज वातावरण बन्नुपर्छ”, उनी भन्छन् ।

श्रेष्ठ निजी वनमा लामो समय श्रम र लगानी गरेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने पक्षमा छन् । निजी वनबाट उत्पादन हुने काठ तथा अन्य वन पैदावारलाई व्यवस्थित रूपमा बजारमा लैजान सकिएमा यसले आयात घटाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने उनको विश्वास छ ।

नेपालमा ठूलोमात्रामा वन स्रोत रहे पनि त्यसको उपयोगबाट पर्याप्त आर्थिक लाभ लिन नसकिएको मानकाजी बताउनुहुन्छ । “वनपैदावार निजी वनमा छन्, सामुदायिक वनमा छन्, कबुलियती वनमा छन्”, उनी भन्छन्, “तर व्यवस्थापनसम्बन्धी राम्रो नीति नहुँदा धेरै वन पैदावार कुहिएर जाने अवस्था छ ।”

बाँदरबाट जोगाउन एभोकाडो

वनसँगै मानकाजीले विभिन्न फलफूलका बिरुवा लगाउने योजना बनाए । तर पछिल्लो समय बाँदरले हैरानी बनायो । घरघर आएर तरकारी, फलफूल तथा अन्य कृषि बालीमा हानि गर्न थाल्यो ।

बाँदरको समस्याबाट जोगाउन उनलाई एभोकाडो रोप्ने योजना बनाए । “अन्य फलफूल खेती गरौँ भने बाँदरबाट जोगाउनै नसकिने । एभोकाडो चाहिँ बाँदरले नखाने रहेछ”, श्रेष्ठ भन्छन्, “विस्तारै हामीले बाँदरले नखाने खेतीको विकल्प खोज्नुपर्ने बेला आएको छ ।”

कागती र एभोकाडो संरक्षण गर्न उनले तारजाली लगाएका छन् । गाईबस्तुले बिरुवा नष्ट गर्नसक्ने भएकाले करिब २०–३० रोपनी क्षेत्रफल जालीले घेरेर खेती विस्तार गरिरहेको श्रेष्ठको भनाइ छ ।

यसले उनको वन व्यवस्थापनको सोचलाई अझ फराकिलो बनाएको छ । वनबाट काठ मात्रै नभएर प्रकृति संरक्षण, फलफूल, गैरकाष्ठ वन पैदावार र अन्य उत्पादनलाई समेटेर आयआर्जन गर्न सकिने क्षेत्र पनि हो भन्ने उहाँको अभ्यासले देखाउँछ ।

नेपालमा रोजगारीको खोजीमा ठूलो सङ्ख्यामा युवा विदेश जाने अवस्था रहेका सन्दर्भमा स्थानीय स्रोतमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

श्रेष्ठका अनुसार सरकारले वन स्रोतमा आधारित साना तथा मझौला उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउनसके ग्रामीण क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्न सकिन्छ । श्रेष्ठको वनबाटै आर्थिक समृद्धिको सम्भावना बोकेको प्रतिनिधिमूलक उदाहरण हो । उनको यही सफल अभ्यासलाई कदर गर्दै वन तथा भू–संरक्षण विभागले निजी वन राष्ट्रिय पुरस्कारबाट यही साता श्रेष्ठलाई रु ५० हजार राशिसहित पुरस्कृत गरेको छ ।

वनलाई हरित अर्थतन्त्रको आधार बनाइने

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वनलाई संरक्षणसँगै आयआर्जन र रोजगारीको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको नीति रहेको बताएकी छन् । उनले ‘हरियो वन, नेपालको धन’ भन्ने अवधारणाको सार्थक कार्यान्वयन गर्ने समय आएको उल्लेख गर्दै वनसम्पदालाई आयआर्जनको प्रमुख स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

“वनजन्य उद्योग, जडीबुटी प्रशोधन, पर्या–पर्यटन र कार्बन व्यापारमार्फत वन सम्पदाबाट स्थानीय समुदायले आर्थिक लाभ लिन सक्छन्,” मन्त्री चौधरीले भनिन्, “वनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिँदै वनजन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रशोधन र बजारीकरणसँगै हरित रोजगारी सिर्जनामा जोड दिएका छौँ ।” मन्त्री चौधरीले काठ, बाँस तथा गैरकाष्ठ वन पैदावारलगायत स्वदेशी उत्पादनको दिगो उपयोग र प्रवर्द्धनलाई प्रोत्साहन गरिने बताइन् ।

नेपालमा पाँच हजार बढी निजी वन

वन विभागका वन अधिकृत विजय ढकालले नेपालमा पाँच हजार ५१४ वटा निजी वनले दुई हजार ९८९ दशमलव १० हेक्टर ओगटेको जानकारी दिए । “सबैभन्दा बढी कोशी प्रदेशमा दुई हजार २२२ वटा निजी वन रहेका छन् ।

यसैगरी मधेसमा एक हजार १९५, बागमतीमा ६६८, गण्डकीमा ४२३ लुम्बिनीमा ५३७, कर्णालीमा १७० र सुदूपश्चिममा २९९ वटा निजी वन रहेका छन्”, उनले भने । राष्ट्रिय वन नीति २०७५ मा फलफूललगायत कृषि वनको विकास र संरक्षण गरी वन क्षेत्रलाई आर्थिकोपार्जनको माध्यमको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।रासस

Skip This