‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’


काठमाडौँ, २९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताए । “आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ । पछि नपाइएलाकी भन्ने चिन्ता र समस्याबाट मुक्त बन्नुहोस् । अनावश्यक सञ्चय पनि नगरौँ”, उनले भने ।

यही साउन १ देखि २९ गतेसम्म भारतबाट दुई हजार ७८१ बुलेट ग्यास आयत भएको जानकारी दिँदै प्रवक्ता सुवेदीले दैनिक औसत एक लाख ३२ हजार सिलिण्डर बजारीकरण भइरहेको स्पष्ट पारे । नेपाल आयल निगमका अनुसार विगतमा दैनिक एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेको थियो । यही साउन २६ गते मात्रै १३४ बुलेट ग्यास आयत भएको थियो ।

बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए । हाल नियमित रूपमा मासिक ४९ हजार ५०० मेट्रिकटन ग्यास आपूर्ति भइरहेकामा तीन महिनाका लागि ६० हजार मेट्रिकटन पुर्याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको उनको भनाइ छ ।

Skip This